तनहुँका ठूला दलको नेतृत्वमा महिला न्यून
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका ठूला दलको नेतृत्वमा महिला न्यून

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७८, बिहीबार

    दमाैली : दुई मुख्य ठूला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसको वडा अधिवेशन हालै सम्पन्न भयो । नेपाली काङ्ग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । नेकपा एमाले तनहुँले ६ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार वटा पालिकामा अधिवेशन हुन बाँकी छ ।

    दुई ठूला दलको नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । नेपाली काङ्ग्रेसको पालिका तहमा महिलाको नेतृत्व शुन्य छ भने नेकपा एमालेको एक पालिकामा महिलाले नेतृत्व भएको छ । दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी अध्यक्ष चुनिएकी छन् । नेपाली काङ्ग्रेसको भने दश वटै पालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् ।

    नेकपा एमालेको अब म्याग्दे, ऋषिङ, घिरिङ र देवघाट गाउँ कमिटीको अधिवेशन हुन बाँकी छ । ती स्थानीय तहमा पनि महिला नेतृत्वमा आउने सम्भावना एकदमै कम रहेको छ ।

    चार स्थानीय तहको पदाधिकारीमा भने महिलाको प्रतिनिधित्व भएको छ । व्यास नगर कमिटीको उपसचिवमा सीता थापा पाण्डे, भानु नगर कमिटीको उपसचिवमा रुपा लामा, शुक्लागण्डकी नगर कमिटीको उपसचिवमा विष्णुमाया ढकालले मौका पाएका छन् ।

    वडा तहको अधिवेशनमा भने नेकपा एमालेका दुई महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका ८५ वडामध्ये दुई वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् ।

    अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–९ को अध्यक्षमा गीता महत र आँबुखैरेनी गाउँपालिका–२ को अध्यक्षमा सम्झना विक निर्वाचित भएका छन् । गत असोजमा सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशन अन्तर्गत तनहुँका चार वडामा महिला वडाध्यक्ष निर्वाचित भएका थिए । व्यास नगरपालिका–१४ को वडाध्यक्षमा नरीमाया राना, बन्दिपुर गाउँपालिका–४ को अध्यक्षमा सीता थापा, बन्दिपुर गाउँपालिका–५ को अध्यक्षमा रीता तिवारी र ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा सविना राना निर्वाचित भएका थिए ।

    नेकपा एमाले तनहुँकी नेतृ बसुन्धरा घर्तीले अझै पनि महिलालाई नेतृत्व दिन नचाहने प्रवृत्ति कायमै रहेको बताइन् । पुरुषप्रधान प्रवृत्ति हावी रहेको भन्दै घर्तीले महिलाले अवसर पाए नेतृत्व गर्न सक्षम रहेको बताइन् । “महिलालाई सहजै नेतृत्वमा आउन दिइँदैन, पुरुष प्रवृत्ति हावी छ,” उनले भनिन् ।

    नेकपा एमाले तनहुँकी सचिव भगवती न्यौपानेले सबै पालिकाहरुमा महिलाको सक्रियता उत्साहजनक रहेको बताइन् ।