दमाैली : सामाजिक काममा सक्रिय लियो क्लब अफ तनहुँ दमौलीले आफ्नो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बीमा गराइदिएको छ । क्लबले शुक्रबार व्यास–१ चारकुनेमा एक कार्यक्रम आयोजना गरी स्थानिय दिपक मगरका परिवारको स्वास्थ्य बीमा गरिदिएको हो ।
वडा अध्यक्ष खरसिं दरैले मगरको परिवारलाई स्वास्थ्य बीमाको कार्ड हस्तान्तरण गरे । मगरको परिवारमा तीन सदस्य रहेका छन् । मगरको परिवार पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर विपन्न स्वास्थ्य बीमा गरिदिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए ।
‘आर्थिक रुपले विपन्न परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्न हामीले स्वास्थ्य बीमा गरेर सुरुवात गरेका हौ,’ मिश्रले भने, ‘थोरै रकमले कसैको परिवारको आर्थिक जोखिम न्यूनीकरण हुन्छ र स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सकिन्छ भने सबैले आ–आफनो ठाउँबाट सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा लायन्स क्लब अफ तनहुँका अध्यक्ष कृष्णहरि गैह्रेले क्लबले सराहनीय कार्य गरेको बताए ।
नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर पाँच वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । जसमा परिवारका पाँच सदस्यले वर्षमा तीन हजार ५०० रुपैयाँ तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ ।
पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति ७२५ रुपैयाँ बुझाउनुपर्नेछ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारले वर्षमा एक लाख रुपैयाँसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था गरिएको छ ।