दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले आलुमा आत्मनिर्भर गराउन कृषकलाई बीउ वितरण शुरु गरेको छ । निर्वाहमुखी खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई आलुमा आत्मनिर्भर गराउन कृषकलाई बीउ वितरण थालिएको हो ।
गाउँपालिकाले दश हजार किलो आलुको बीउ खरिद गरी कृषक, सहकारी, समूहलाई अनुदानमा वितरण थालेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको छ ।
गाउँपालिकाले प्रति किलो रु ५४ का दरले आलुको बीउ खरिद गरी ल्याएको छ । गाउँपालिकाका ६ वटै वडामा कृषकलाई बीउ वितरण गरिनेछ । “कृषकले निर्वाहमुखी रुपमा आलुखेती गर्दै आइरहेका छन्, त्यसलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने सोच लिएका छौ,” थापाले भने, “सबै वडाका कृषकलाई प्राथमिकताका आधारमा बीउ वितरण गर्छौ ।”
गाउँपालिकाले गत वर्ष पनि आलुको बीउ वितरण गरेको थियो । त्यसबेला ढिला खरिद गर्दा मूल्य महङ्गो परेको थियो । अहिले बेलैमा खरिद गरेकाले सुलभ मूल्यमा बीउ पाइएको थापाले बताए ।
गाउँपालिकाले प्याज, तोरी लगायतका बीउ पनि कृषकलाई वितरणको तयारी गरेको छ । “समग्र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौ, निर्वाहमुखी खेती गर्नेलाई कृषकको जीवनस्तर उकास्ने प्रयासमा छौ,” थापाले भने । हिउँदमा चक्लाबन्दी खेतीका लागि प्याजको बीउ वितरण गरिनेछ ।