दमौली : व्यासमार्गका ठाउँठाउँमा भत्किएको सडकको तस्वीर सामाजिक सञ्जालमा राख्दै एक सर्वसाधारणले लेखे, “के कुर्सीमा बस्छौ के सार्वजनिक साधनमा हिड्छौ जनप्रतिनिधि तथा नेता भनौदाहरु ! पिच गर्न नसकेनी कम्तीमा २, २ ट्रक ग्राभेल हालिदिने औकात त राख! मतदातासँग डर त भएन भएन लाज पनि लगेन है?”
ती सर्वसाधारणले भने जस्तै व्यासमार्गका अधिकांश ठाउँमा सडक भत्किएको छ । कालोपत्रे भत्किएर खाल्डो परेको छ । त्यही खाल्डोले दुर्घटनाको जोखिम बढाएको छ । व्यासमार्गमा मात्रै होइन व्यास नगरभित्रका अधिकांश ठाउँमा सडक भत्किएको छ ।
त्यसतर्फ नगरपालिकाको ध्यान छैन, तर कालोपत्रे भएकै ठाउँमा नगरपालिकाले धमाधम पुन: कालोपत्रे गरिरहेको छ। व्यास-२ र ३ भित्रका विभिन्न ठाउँमा नगरपालिकाले कालोपत्रे गरिरहेको छ । “जहॉ आवश्यकतै छैन त्यहॉ बजेट खर्च गरिएको छ,” व्यास-२ का कृष्ण अधिकारीले भने ।