शङ्कर भण्डारी भन्छन् : काङ्ग्रेस जिताउन म उम्मेदवार नबन्न तयार छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शङ्कर भण्डारी भन्छन् : काङ्ग्रेस जिताउन म उम्मेदवार नबन्न तयार छु

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७८, शनिबार

    दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली काङ्ग्रेस व्यास नगर समिति वडा नम्बर ६ ले दीपावली, छठ लगायतका पर्वको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भण्डारीले काङ्ग्रेस सुदृढ नभएसम्म आम निर्वाचन जित्न नसकिने बताए ।

    काङ्ग्रेस नेता कार्यकर्ताबीच भावनात्मक एकता नहुँदा गत निर्वाचनमा काङ्ग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको बताउँदै पूर्वमन्त्री भण्डारीले भने, “मेरो तर्फबाट केही गल्ती भए स्वीकार गर्न म तयार छु, सबैले आ–आफ्नो कमजोरी स्वीकार गरौं र पार्टीलाई एकढिक्का बनाऔं ।” पूर्वमन्त्री भण्डारीले नेतृत्वमा रहेका नेताहरुको निर्णयका कारण पनि पार्टीले हार बेहोर्नुपरेको टिप्पणी गरे ।

    पार्टीमा केही समस्या रहेकाले समस्याको समाधान नगरेसम्म पार्टी नबन्ने भण्डारीको जिकिर थियो । “कतिपय ठाउँमा एकाङ्की तरिकाले टिकट बाँडियो, केन्द्रीय तहमा रहेका हामीहरुसँग पनि सल्लाह भएन,” भण्डारीले भने, “कित्ताकाट नगरी एक भएर अगाडी बढौ, आगामी चुनाव जितिन्छ ।”

    पार्टीको १४ औं महाधिवेशनमा तनहुँका रहेका पुराना र युवा पुस्ता दुवैलाई मिलाएर लैजानुपर्नेमा जोड दिँदै उनले भने, “अहिलेपनि केही नेताले कोठामा बसेर कित्ताकाँट गर्ने काम गरिरहेका छन्, तेरो र मेरो मान्छे भनेर विभाजन गर्ने काम भइरहेको छ, त्यस्ता काम बन्द गरौं ।” पूर्वमन्त्री भण्डारीले आम निर्वाचनमा काङ्ग्रेसलाई जिताउन बरु आफू उम्मेदवार नबन्ने घोषणा गरे ।

    आमन्त्रित केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य धु्रव वाग्लेले काङ्ग्रेसभित्रको वातावरण दूषित हुँदै गएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । काङ्ग्रेसभित्र नीतिभन्दा नेता हावी हुने प्रवृत्ति मौलाएको भन्दै उनले थपे, “पार्टीमा नीति ठूलो हो, विचार ठूलो हो नेता होइन, सबैलाई मिलाएर लैजान सक्ने पार्टी नेतृत्व आवश्यक छ ।”

    नेपाली काङ्ग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले निर्वाचनको परिणामलाई बिर्सदै सद्भावको यात्रा बढाउन सके काङ्ग्रेस एकढिक्का हुन सक्ने बताए । न्यौपानेले विगतको कमजोरी सच्याउँदै अगाडी बढ्नुको विकल्प नरहेको बताए । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ का सहसभापति राजेन्द्रकृष्ण श्रेष्ठले काङ्ग्रेसभित्रका मतान्तर बिर्सिएर अगाडी नबढे आगामी स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा काङ्ग्रेस पराजय हुने बताए ।