दमौली : तनहुँस्थित स्थानीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा सम्पन्न भएको वार्षिक प्रगति सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति तनहुँले सोमबार आयोजना गरेको जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठिमा जिल्लाका दश स्थानीय तह र विषयगत कार्यालयले वार्षिक प्रगति सार्वजनिक गरेका हुन् ।
सो अवसरमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, भानु नगरपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आ–आफ्नो पालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताका आधारभूत आवश्यकतालाई ध्यान दिएर स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको योजना जनताको आवश्यकतामा केन्द्रित हुनुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पथ, गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ, सरिता गुरुङ, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।