दमाैली : तनहुँमा रातिको १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलबार सूचना जारी गरी राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने बताएको हो ।
कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरी देउसीभैलो खेल्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
“विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सतर्कताका साथ चाडपर्व मनाउनुपर्ने अवस्था छ,”अर्यालले भने ,“देउसीभैलो खेल्दा सुरक्षाका मापदण्ड अनिवार्य पालना गरौं ।”
प्रशासन कार्यालयले चाडपर्व मनाउँदा अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवारका सदस्यबीच मात्रै मनाउन, जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड हुने कार्यक्रम नगर्न, जुवातास खेल्ने लगायत कानूनले निषेधित गरेका कार्य नगर्न समेत आग्रह गरेको छ ।