दमाैली : व्यास बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएकी देउमाया दमैको निधन पश्चात् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । सहकारीबाट ६ लाख ऋण लिएकी दमैको निधन भएपश्चात् कम्पनीले मृत्यु दावी बापत ६ लाख १० हजार भुक्तानी गरेको हो ।
उक्त रकमको चेक मंगलबार इन्स्योरेन्सका दमौली प्रमुख रविचरण गिरीले मृतकका परिवारको उपस्थितिमा सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
सहकारीका शेयर सदस्य दमैले गत भदौ १६ गते सहकारीबाट ऋण लिएकी थिइन् । उनको असोज ७ गते मृत्यु भएको थियो । ऋणको जोखिम वहन गर्न सहकारीले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग बीमाका लागि सम्झौता गरेको थियो ।
मृतक दमैले पहिलो किस्ता बापतको तीन हजार दुई सय ४० मात्र भुक्तानी गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका दमौली प्रमुख रविचरण गिरीले जानकारी दिए । उनका अनुसार नेफस्कुनसँग आबद्ध सबै सहकारीसँग कम्पनीले इन्स्योरेन्सको सम्झौता गरेको छ ।
सहकारीका अध्यक्ष अधिकारीले ऋण दिँदा बीमा गर्ने कामले ऋणको पनि जोखिम बहन हुने भएकाले यसको महत्व रहेको बताए । उक्त कार्यक्रममा सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेल, सचिव त्रिभुवन श्रेष्ठ लगायत सहकारीका विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरुको सहभागिता थियो ।