त्यसकारण तपाईंको यात्रा दक्षिणपन्थी छ कमरेड !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    त्यसकारण तपाईंको यात्रा दक्षिणपन्थी छ कमरेड !

    भगवती न्यौपाने

    १७ कार्तिक २०७८, बिहीबार

    आज नेपालको कम्युनिष्ट आन्दोलनलाइ सही दिशा दिने र समाप्त पार्न खोज्नेहरुका बीचमा तीब्र रुपमा अन्तरविरोध भैरहेको छ । कम्युनिष्ट आन्दोलनमा विगत लामो समय देखि लागेका नेताहरु नै आज आन्दोलन विरुद्ध उभिएर दक्षिणपन्थीको सेवा गरिरहेका छन । त्यसको नेतृत्व प्रचण्ड र माधव नेपालले गर्दै हुनुहुन्छ । यो मेरो पुर्वाग्रही आरोप होइन , उहाँहरुको आजको भुमिका , भोलिका लागि तय गरेको बाटो र उहाँहरुले सार्वजनिक रुपमा दिने गरेको अभिव्यक्तिले पनि यही पुष्टि गर्दछ । नेकपा ( एमाले ) विभाज गर्न को को लागे , के कस्ता हर्कतहरु गरिए भन्ने विषय सबैका सामु छर्लङ्ग छ । सबै दृश्य देख्ने नेपाली जनता र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले माधव नेपाललाइ माफ दिन सक्ने अवस्था नै रहेन । आफैंले निर्माण गरेको नेकपा (एमाले ) पार्टी , यस पार्टीमा आबद्ध लाखौं कार्यकर्ता र यस पार्टीसँग जोडिएको नेपाली जनताको उज्यालो भविष्यलाइ समाप्त पार्न जसरी माधव नेपाल प्रयोग भइरहनु भएको छ अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा केही यस्तै पात्र थिए मिखाइल गोर्भाचोभ , चाउ चेस्कुहरु जसलाई पुँजीवादीहरुले अत्यन्त प्रशंसा गरेर उचाल्ने र आफ्ना अनुकूलमा प्रयोग गर्ने गर्दथे त्यही इतिहासको याद आउने गर्दछ । आज यथास्थितिवादी दक्षिणपन्थीहरुले माधव नेपालको प्रशंसा गर्न किन रुचाउँछन् ? शक्तिशाली कम्युनिष्ट पार्टी छिन्नभिन्न पार्ने , कमजोर बनाउने र समाप्त पार्ने उनीहरुको एक मात्र उद्देश्य हुन्छ , त्यसका लागि माधव नेपाल र प्रचण्ड अच्छा पात्र बनिदिनु भएको छ । ४ जना मन्त्री , १ राज्य मन्त्री , २ प्रदेशमा मुख्य मान्त्री र केही राजनीतिक नियुक्तिमा रमाउने र कांग्रेसलाइ आज , भोलि अनि धेरै पछाडिसम्म बलियो बनाउने माधव नेपालको योजनालाइ पुर्ण रुपमा निस्तेज पार्ने दायित्व हाम्रो अगाडि रहेको छ । केही भ्रममा अलमलिएका कार्यकर्ता र आम नेपाली जनतालाइ वास्तविक कुरा बताउन पर्ने छ । त्यसकालागि एकतबद्ध शक्तिशाली नेकपा ( एमाले ) आजको आवस्यकता हो । दशौं राष्ट्रिय महाधिवेशनले यही सन्देश दिन सक्नु पर्दछ । कमरेड माधव नेपाल तपाईंको अबको बाटो यही होईन र ? निदाएको कांग्रेसलाइ बिउँझाउने र लम्पसार पर्दै सत्ता सुम्पिने प्रचण्ड , माधवको अबको यात्रा बारे पनि कोही कसैलाई कुनै दुबिधा छ जस्तो लाग्दैन । कांग्रेससँग निरिह बन्दै आँसु झारेर अबको निर्बाचनमा दुइ/ चार सिट माग्ने र बाँकी कांग्रेसलाइ सघाउने यो उनिहरुको हरदम कोशिश हुनेछ । उनिहरुको यो कोशिशमा कांग्रेसले दया गर्ला भन्ने मलाई पटक्कै लाग्दैन । स्थानीय तहमा वडा देखि पालिकासम्म अनि संघ र प्रदेशको निर्वाचमा कांग्रेसका दर्जनौं नेता कार्यकर्ताको उम्मेदवार बन्ने आकांक्षा छ । यदि पार्टीले केही सिट प्रचण्ड माधव नेपाललाइ छुट्यायो भने कांग्रेसमा धेरै ठुलो बिद्रोह हुनेछ र त्यसबाट उसले फाइदा होईन नोक्सानी नै बेहोर्नु पर्नेछ । छुट्टै शान र मान पाउने , पार्टीका सम्पूर्ण कार्यकर्ता र जनताको माया पाउने अवस्थालाइ गुमाएर माधव नेपाल र प्रचण्डले कांग्रेससँग हात जोडेर भिख मागिरहेको सुन्दा यो भन्दा अनौठो अरु केही लाग्दैन । कमरेड माधव नेपाल , तपाईंको अभिव्यक्ति हामीले सधैं सुनिरहेका छौं । आगामी निर्वाचनमा कांग्रेस बलियो होस् भन्ने तपाईंको पुकार र कामना छ । संविधान , कानुन र लोकतन्त्रको हुर्मत लिंदै अध्यादेश मार्फत तपाईंले बनाएको पार्टीले कुनै पनि निर्वाचनमा एक स्थान जित्न सक्ने आधार छैन । आज तपाईंले एमालेलाइ हराइदिन्छौं भन्दै गर्दा कांग्रेसलाइ जिताइदिन्छौं भन्ने हो , हाम्रो चुनौती छ दक्षिणपन्थीको विजयको लागि तपाईंको सम्पूर्ण तागतको प्रयोग गर्नुहोस् । अब तपाईंको राजनीतिक यात्रा धेरै लामो छैन , राजनीतिक यात्राको अन्तिम बिन्दुमा कांग्रेसलाइ बलियो बनाएर बिश्राम लिने तपाईंको उत्कट चाहना पुस्तौं पुस्ताले पढ्न लायक इतिहास बन्ने छ । तर हामी जनताको मतबाट कम्युनिष्ट पार्टीलाइ नै बलियो बनाउन सम्पूर्ण तागत प्रयोग गर्नेछौं र सफल पनि हुनेछौं । त्यसैले आजको लडाइँ कांग्रेस बलियो बनाउने की कम्युनिष्ट पार्टी बलियो हुने भन्ने हो । दक्षिण पन्थी विसर्जनवाद की क्रान्तिकारी अग्रगामी शक्तिको विजय सुनिश्चित गर्ने भन्ने हो । कांग्रेस बलियो बनएर कम्युनिष्ट पार्टी विसर्जनमा पुर्‍याउने माधव नेपाल र प्रचण्डका प्रवृत्तिका विरुद्ध मुठ्ठी कसेर उठ्ने छौं र तपाईंहरुका षड्यन्त्रलाइ धुजा धुजा बनाउँदै , तपाईंहरुका सपनालाइ धक्का दिंदै जुट्नेछौं । जोगाउने छौं कम्युनिष्ट आन्दोलन , जिताउने छौं हाम्रो पार्टी । आज तपाईंका पछि लाग्नेहरु माफ माग्दै , तपाईंलाइ एक्लो बनाउँदै फर्कने छन किनकी आन्दोलनमा लाग्नेहरुको सम्बन्ध आन्दोलनसँग हुन्छ व्यक्तिसँग होइन । तपाईं एक्लो हुन हुन्छ तर कम्युनिष्ट पार्टीले हार्न हुँदैन । हिजो तपाईंको साथमा हुने धेरै नेताहरुले तपाईंलाइ किन छोड्नु भयो ? जब तपाईं दक्षिण पन्थी विसर्जनवाद तिर सम्बन्ध प्रगाढ बनाउँदै कम्युनिष्ट पार्टीलाइ समाप्त पार्न यात्रामा होमिनु भयो तव उहाँहरु झस्कनु भयो र उहाँहरुले तपाईं व्यक्तिलाइ होईन पार्टी र आन्दोलनलाइ रोज्नु भयो ।

    (लेखक नेकपा एमाले तनहुँको सचिव एवं राष्ट्रिय सभाको सदस्य छन् )