काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले अब कामको गतिलाई तीव्रता दिनुपर्ने बेला आएको बताएका छन् । मन्त्रालयमा मंगलबार आयोजित वार्षिक समिक्षा कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अब एक सयको गतिमा दौडिन आवश्यक रहेको उल्लेख गरे ।
“म मन्त्रीमा नियुक्त भएको एक महिना पूरा भयो, यस बीचमा दसैतिहारको विदाले काम गर्न पाइएन, अब गति बढाउने हो,” उनले भने । मन्त्री श्रेष्ठले सुरुमा मन्त्रालयको जिम्मेवारी पाउँदा केही अलमलिएपनि यो महत्वपूर्ण मन्त्रालय भएको महसुस गरेको बताए । “आठ खर्ब भन्दा बढी रेमिट्यान्स भित्र्याएर देश सञ्चालन गर्ने मन्त्रालय यो हो,” उनले भने ।
कोरोना कहर र राजनीतिक अवस्थाका बाबजुद पनि मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गरे ।
मन्त्री श्रेष्ठले बुटवल र हेटौडामा रहेको श्रम कार्यालयलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । “बुटवलमा सिंहदरबार जत्रो भवन रहेछ तर श्रम कार्यालय भाडामा सञ्चालन छ,” उनले भने, “कार्यालय व्यवस्थापनका लागि मैले आवश्यक काम गर्नेछु ।”