भानु : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले काङ्ग्रेसमा नवप्रवेशीले ठाउँ पाउने तर काङ्ग्रेसमा जीवन समर्पण गर्नेहरु कारवाहीमा परेको बताएका छन् । तनहुँको भानु नगरपालिकाका विभिन्न ठाउँमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै जोशीले काङ्ग्रेसमा नवप्रवेशीले ठाउँ पाउँदा असली कार्यकर्ताले कारवाही भोग्नुपरेको बताएका हुन् ।
२०३३ सालमा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति ल्याएर स्वदेश फर्किदा कोइरालालाई फाँसी दिनुपर्छ भन्ने सूर्यबहादुर थापाको छोरा सुनिल थापालाई सहमहामन्त्री बनाइएको भन्दै जोशीले भने, “पञ्चायती व्यवस्थाका अञ्चलाधीश जसले नेपाली काङ्ग्रेसको आन्दोलन दबाएर दुःख दिने नरेन्द्रकुमार चौधरीलाई केन्द्रीय सदस्य बनाउने तर काङ्ग्रेसका लागि जीवन समर्पण गरेको मलाई पार्टीबाट निकालियो ।” जोशीले असली कार्यकर्ताको काङ्ग्रेसभित्र अस्तित्व नरहेको बताए ।
पूर्व गृहमन्त्री समेत रहेका जोशीले सबै पार्टीमा चहारेर फाइदा लिएपछि काङ्ग्रेसमा आएकाहरुले नै आज असली काङ्ग्रेसलाई प्रश्न गरेको उल्लेख गरे ।