दुलेगौडा : तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन्। दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण घट्दै गएपछि कात्तिक चौथो साता जिल्लाका पाँच स्थानीय तह कोरोना मुक्त भएका हुन्।
जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार यी स्थानीय तहमा कोरोनाको परीक्षण पनि न्यून छ।
जिल्लामा मंगलबार एक जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ११ जनाको कोरोना परीक्षण गरिएको थियो। कोरोना परीक्षण कम हुँदा संक्रमणदर घटेको अधिकारी बताउँछन्। उनी भन्छन्, ‘कोरोना परीक्षण बढाउने हो भने संक्रमण पनि बढ्ने देखिन्छ।’ दैनिक १० जना भन्दा कम संक्रमित थपिरहेको उनले जनाए।
जिल्लामा हाल ३८ जना कोरोनाका सक्रिय संक्रमित छन्। धेरै व्यास नगरपालिकामा १६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शुक्लागण्डकी नगरपालिकामा १४ जना सक्रिय संक्रमित हुँदा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा तीन/तीन जना र भानु नगरपालिकामा दुई जना सक्रिय संक्रमित छन्।
दोस्रो लहर सुरु भएपछि जिल्लामा पाँच हजार तीन सय ६६ जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये पाँच हजार दुई सय चार जना निको भएका छन्। १ सय २४ कोरोना संक्रमितको दोस्रो लहरमा निधन भएको स्वास्थ्य कार्यालयसँग तथ्याङ्क छ।
गण्डकी प्रदेशभर मंगलबार ३२ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २५० जनाको कोरोना परीक्षण गरिएको थियो। धेरै संक्रमित कास्कीमा १७ जना थपिएका हुन्। म्याग्दी, मुस्ताङ र मनाङमा मंगलबार संक्रमित थपिएनन्। ८७ जनाले कोरोनालाई जितेका स्वास्थ्य निर्देशनालयले जनाएको छ।
हालसम्म गण्डकी प्रदेशमा ८७ हजार ५ सय ३४ जनालाई कोरोना पुष्टि भएको छ। तीन लाख ४७ हजार ६ सय ६८ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीसँग तथ्याङ्क छ। प्रदेशभर सक्रिय संक्रमित ४२६ जना छन्। होम आइसोलेसनमा ३९१ जना बसेका छन्। कोरोनाले गण्डकीका एक हजार तीन सय ९८ जनाको ज्यान लिएको छ।