


दमौली : बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि तनहुँमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले जनगणनाको तयारी पूरा भएको जानकारी दिएको छ ।
जनगणनाका लागि तनहुँमा चार सय ९० गणक परिचालन गरिएको छ । कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनाका लागि जिल्ला जनगणना कार्यालयले गणकलाई सम्पूर्ण प्रक्रिया सिकाएर खटाएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए ।
जिल्लामा गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरुले घरपरिवार सूचीकरण गरिसकेका छन् । सोहीका आधारमा अब गणकहरुले मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन् ।
जनगणनाका लागि गणकहरु मार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावली मार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायतका विवरणहरु सङ्कलन गरिनेछ । दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावली मार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धि विवरणहरु पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि सङ्कलन हुनेछ ।
जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रमहरु तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाई, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँड, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडी परेका समुदायको उत्थानका कार्यक्रमहरु सञ्चालन गर्न तथा संविधानको मौलिक हकहरु लगायत अन्य हकहरुको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ ।
९१ हजार घरपरिवार सूचीकृत
तनहुँमा ९१ हजार घरपरिवार सूचीकृत गरिएको छ । राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका ९१ हजार घर परिवार सूचीकृत गरिएको हो ।
पहिलो चरण अन्तर्गत एक सय ३० सुपरिवेक्षकले घर परिवार सूचीकृत गरेको सापकोटाले जानकारी दिए । विसं २०६८ सालको जनगणना अनुसार जिल्लामा ७८ हजार तीन सय ९ परिवार सूचीकृत गरिएको थियो भने तनि लाख २३ हजार दुई सय ८८ जनसङ्ख्या थियो ।