दमौली : नेकपा एमालेको दशौ महाधिवेशनका लागि गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित भएका छन् । महाधिवेशन प्रतिनिधि छनौट भएर केन्द्रीय सदस्य लड्ने गुरुङको चाहना पूरा नहुने भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज एक बहादुर रानाले गुरुङलाई महाधिवेशनमा आफ्नो प्रतिस्पर्धी ठानेपछि गुरुङ महाधिवेशन प्रतिनिधि बन्नबाट बन्चित भएका हुन् ।
आवश्यक संख्याभन्दा बढि उम्मेदवारी परेको र उम्मेदवारहरु कसैले पनि फिर्ता लिन नचाहेपछि सबैको सहमतिमा केन्द्रीय सदस्य रानालाई प्रतिनिधि छनौट गर्ने जिम्मेवारी तोकिएको थियो । आफूलाई अधिकार प्राप्त भएपछि रानाले सांसद गुरुङलाई प्रतिनिधि बन्नबाट नै रोक लगाईदिए । उम्मेदवारहरुले कार्यदलको जिम्मेवारी दिएपछि रानाले आफ्नो तर्फबाट नाम छनौट गरेर शुक्रबार राति ८ बजे निर्वाचन समितिलाई नाम बुझाएर घर गए । आफ्नो निर्णय प्रति असन्तुष्टि हुने थाहा पाएका राना शनिबार दिनभर सम्पर्कविहिन भए । शनिबार दिनभरको प्रयास पछि निर्वाचन समितिले राति सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको सूचना टाँस गरेको थियो।
पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउँदै सांसद गुरुले एकबहादुर रानाको संयोजकत्वमा कार्यदल बनाउनु नै गलत भएको बताए । रानाले आफूलाई प्रतिस्पर्धी ठानेको कारण जिल्लाबाट नै अवरोध गरिएको गुरुङले बताए । सांसद गुरुङले एकबहादुर रानाको नियत नै ठिक नभएको भन्दै यसको समिक्षा महाधिवेशन पछि गरिने बताए ।