मन्त्री ज्यू डुबानबाट जोगाईदिनुस् !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री ज्यू डुबानबाट जोगाईदिनुस् !

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा पहाड खोला (खोल्सी)मा अहिले पानी राम्रोसँग बग्न छाडिसकेको छ । यसपाली कात्तिकको सुरुवातमा बेमौसमी बर्षा भएकाले धेरथोर पानी बगरिहेको हो । नत्र यतिबेला खोल्सीमा पानी सुकेर कमिला हिँड्ने अवस्थामा पुग्थ्यो ।

    तर यही सानो खोल्सीले वर्षामा स्थानीयको निद हराम गरिदिन्छ । माथिबाट उर्लिदै बगेर आएको पानीको भेल बस्तीमा सोझिन्छ । मालेबगरका घरगोठ डुबानमा पर्छन् । पानीको निकास नभएर सडकबाटै जलमग्न भएर बग्छ । आकाश गर्जिन थालेपछि बर्खाभर मालेबगरवासी त्रसित भएर बस्नुपर्ने बाध्यता छ ।

    पहाड खोलाको पानी नियन्त्रणका लागि मालेबगरवासीले गण्डकी प्रदेश सरकारलाई गुहारेका छन् । प्रदेशका उर्जा, जलस्रोत, तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई स्थानीयले पहाड खोलाको पानी निकास र डुबान नियन्त्रणको माग लिएर मन्त्रालय डेलिकेशन आउँछौँ भनेपछि मन्त्री नै आएर स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणमा आएका मन्त्रीसँग स्थानीयले पानीको निकास गर्न ढलको व्यवस्थापन सहित वर्षामा बस्ती डुब्नबाट जोगाईदिन अनुरोध गरे ।

    नवप्रभात युव क्लबका अध्यक्ष समेत रेहका स्थानीय युवा विक्रम कार्कीले वर्षौदेखि डुबानको समस्या भोगिरहेको सुनाए । ‘मन्त्री ज्यु डुबानको समस्या समाधान गर्न अनुरोध गर्दछु’, उनले भने । घडेरी किन्न आएकाहरु पानीको निकास नभएकाले डुबान पर्ने बस्ती भनेर फर्कने गरेको उनले बताए । खोलाले सडकलाई समेत बिगारेको उनको भनाई छ । उनका अनुसार पहाड खोलाले बर्खामा यहाँका एक सय बढी घरलाई असर पुर्याउँछ । खोला नियन्त्रण गरेर बस्तीतर्फ पस्न नदिनलाई स्थानीय सरकारसँग हार गुहार गरेपनि सुनवाई नभएको उनको भनाई छ ।

    प्रकाश अधिकारीले जसै डुबानबाट बस्तीलाई जोगाउन मन्त्री समक्ष अनुरोध गरे । उनले भने, ‘यो खोलाले वर्षौदेखि हामीलाई रुवाएको छ । जसरी हुन्छ डुबानबाट बस्तीलाई जोगाइदिनुहोला ।’ उनका अनुसार बर्खामा कहिले पसलका सामान बगाइदिन्छ त कहिले घरको भान्छाको भाडा वर्तन बगाउँछ ।

    मालेबगरवासीको गुनासो सुनेपछि मन्त्री आचार्यले खोलाको तटबन्धन गरेर बस्ती जोगाउन यसै वर्षबाट काम सुरु गर्ने प्रतिबद्धता जनाए । ‘कसरी तटबन्धन गर्ने, खोला कताबाट लैजाने किटानी गर्नुस् । यसै बर्षबाट हामी काम सुरु गर्छौँ । एक बर्षमा सकिदैन् । अलि बढी खर्चिलो पनि छ । खोलालाई पक्की नहरमा व्यवस्थापन गर्नुपर्नेछ । सिँचाई पनि गर्नुपर्ने भएकाले एकिकृत योजना बनाउनुपर्नेछ’, उनले भने । आफुले बोलेको कुरा पुरा गरेर छाड्ने बताए । तुरुन्त प्राविधिक पठाएर काम सुरु गर्ने उल्लेख गरे । घर बस्ती जोगाउने पहिलो प्राथमिकता रहेको उनको भनाई छ । ‘तपाईहरुको विवादले विकास पर नधकेलियोस्’, उनले बताए ।