फूलको तोरण तार्न सर्वसाधारणकाे घुइँचो (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फूलको तोरण तार्न सर्वसाधारणकाे घुइँचो (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७८, सोमबार

    दमाैली : हरिबोधनी एकादशी पर्वको अवसरमा साेमबार तनहुँका विभिन्न ठाउँमा फूलको तोरण तार्न सर्वसाधारणकाे भीड लागेको छ । तनहुँको व्यास नगरपालिकास्थित दमौली, शिशाघाट, गजौडे, आँबुखैरेनीको सत्रसयस्थित आँधीमूल, शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा, कोत्रे, भिमाद लगायतका ठाउँमा फूलको तोरण तार्न सर्वसाधारणकाे भीड लागेको हो ।

    कोरोना सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि यस वर्षको हरिबोधनी एकादशीमा भक्तजनको चहलपहल बढेको व्यास नगरपालिका–११ निवासी कृष्णप्रसाद पौडेलले बताए । “कोरोनाका कारण गत वर्ष हरिबोधनी एकादशीको मेला लागेन, अहिले कोरोना सङ्क्रमण घटेको र सबैले खोप लगाएका कारण पनि भक्तजनको चहलपहल राम्रै देखिएको छ,” उनले भने ।

    दमौलीस्थित मादीसेतीको दोभानमा चार वटा फूलको तोरण तारिएको छ । विभिन्न ठाउँबाट ल्याइएको फूलको डोली सहितको तोरण व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटारमा तारिएको छ । फूलको डोली सर्वसाधारणले बाजागाजा सहित दमौली ल्याएका थिए ।

    हरिबोधनी एकादशीकै अवसरमा व्यास नगरपालिका–९ स्थित राजापानी मन्दिरमा पनि फूलको तोरण तार्न भक्तजनको भीड लागेको छ ।

    आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा पनि एकादशी पर्वको अवसरमा मेला लागेको छ । कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजारौको सङ्ख्यामा भक्तजनको भीड लागेको वडाध्यक्ष किसान थापाले जानकारी दिए । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।

    आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसी बाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ ।