दमौली : राष्ट्रिय दलित पत्रकार संघ तनहुँले सोमबार गण्डकी प्रदेशका विना विभागीयमन्त्री डोवाटे विक सहित विभिन्न संस्थाको नेतृत्वमा चयन भएका दलित समुदायका व्यक्तिहरुलाई सम्मान गरेको छ । दलित समुदायको विकासमा भूमिका खेलेको भन्दै दमौलीमा दलित पत्रकार संघले उनीहरुलाई सम्मान गरेको हो ।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष विनोदकुमार विक विकास, उपाध्यक्ष हरि गहतराज, सचिव पदम सुनार र कोषाध्यक्ष रोहित सुनारलाई दलित पत्रकार संघले सम्मान गरेको सचिव अशोक विश्वकर्माले बताए ।
सोही अवसरमा दलित पत्रकार संघ तनहुँले स्थापना गर्न लागेको अक्षय कोषमा आर्थिक सहयोग गर्ने सुनचाँदी ब्यवसायी संघ नेपालका केन्द्रीय सदस्य कृष्ण सुनार, पत्रकार अमरराज नहर्की लगायतका दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्त्री विकले आफूले सञ्चार माध्यामको महत्वपूर्ण साथ पाएकै कारण मन्त्री बनेको बताए । विकले देशभरका सञ्चार माध्यमले आफ्नो पक्षमा बोलेको भन्दै धन्यवाद समेत दिए । उनले गण्डकी प्रदेशमा यस अघिको सरकारले टेबुल गरेको सञ्चार विधयक पत्रकारको हितमा हुने गरि आगामी हिउँदे अधिवेशनमा पारित गर्ने तयारी भईरहेको जानकारी दिए ।
कार्यक्रम सुनचाँदी व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य कृष्ण सुनार, तनहुँका अध्यक्ष विनोदकुमार विक विकास, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण विक लगायतका वक्ताहरुले दलित समुदायको न्यायका लागि सम्वन्धित समुदायकै नेतृत्व आवश्यक रहेको बताएका थिए ।