दुलगौडा : महिलाहरुको समूहले देउसीभैलो खेलेर उठाएको रकम बिरामी बालकको उपचारका लागि सहयोग गरेका छन् । जन्मजात मृगौलामा समस्या देखिएका २ महिने शिशु प्रकाश विकको उपचारका लागि सघाउन शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका महिलाले मंगलबार १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
‘तिहारमा साथीसँगी मिलेर रमाईलो गर्ने उदेश्यले सानो समूहमा भैलो खेलेका थियौं । थोरै रकम उठेको थियो । अरु खर्च गर्नुभन्दा बाबुको उपचारमा हातेमालो गर्न सहयोग गर्यौँ” गाछेपानीकी सन्तु ढुंगानाले भनिन् ।
दैलेख घर भई तनहुँ दुलेगौंडामा ज्याला मजदुरी गरी बस्दै आएका तपेन्द्र र शान्ता विकका २ महिने छोरा प्रकाशको मृगौला सुन्निएको र पिशाव नली साँघुरो रहेको फुपु कल्पना विकले बताईन् । गर्भावस्थादेखि नै शिशुको मृगौला र पिशाव नलीमा समस्या भएको चिकित्सकले बताएका थिए ।
उपचार गर्ने पैसा नभएपछि चिन्तामा रहेका विक परिवारलाई अहिले भने सहयोग आउने क्रम शुरु भएको छ । नेपालीप्पे नामक जर्मन संस्थाले ५५ हजार रुपैयाँ सहयोग गरेपछि उपचारका लागि शिशुलाई काठमाण्डौ स्थित कान्ति बाल अस्पताल पठाईएको स्थानीय गोमा श्रेष्ठले बताईन् ।
छोरा बिरामी जन्मिएपछि दिनभरी कमाएर साँझ विहानको गुजारा चलाउँदै आएका विक परिवारको दैनिकि प्रभावित बनेको छ । छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनीहरुले सबैसंग अनुरोध गरेका छन् ।