पोखरा : अनेरास्ववियु बागलुङका कार्यकर्ताले बागलुङको काठेखोला गाउँपालिका-७ मा रहेको जीर्ण पुलको मर्मत गरेका छन् । ‘विपत्तिमा सहारा विभेदमा विद्रोह’ नारासाथ सुरु भएको ‘म अखिल’ अभियान अन्तरगत बागलुङका अखिलका कार्यकर्ताले जीर्ण रहेको पुलको मंगलबार मर्मत गरेका हुन् ।
विद्यालय जाने विद्यार्थीलाई पुल जीर्ण भएर जोखिम बढेपछि अनेरास्ववियु बागलुङका संयोजक रोशन कुंवरको नेतृत्वमा उक्त पुलको मर्मत गरिएको छ । तत्कालका लागि अखिलका कार्यकर्ताले पुल मर्मत गरेपनि दीर्घकालिन रुपमा पुलको मर्मतका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने अखिल गण्डकी प्रदेश कमिटीका सचिव आरके पोखरेलले जानकारी दिए ।
अखिलले सोमबार ‘म अखिल’ अभियान शुभारम्भ गरेको थियो । यो अभियान प्रदेशभर सञ्चालन हुने बताइएको छ ।