दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडा भंगराका किसान सामूहिक रुपमा सिताके च्याउ उत्पादनमा होमिएका छन् । पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदिला बनेका १६ जना किसान समुह बनाए सिताके च्याउ खेतीमा समर्पित भएका हुन् ।
पाँच सय कटुसको मुढामा च्याउ लगाईएको छ । पहिलो बर्ष अपेक्षित उत्पादन भएन् । ४७ किलो मात्र उत्पादन भएको थियो । समुहमा आबद्ध किसानले उपभोग गरे । बाँकी रहेको बजारमा खोसाखोस भयो ।
यसपाली च्याउ रहर लाग्दो गरेर फलेको छ । मुढामा फलेका च्याउले हौसाएको छ किसानलाई तर, बजार पाउन मुस्किल बनेको छ । बजार नपाएपछि किसान आफैँले उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो बजार पाउन नसकेको तार्कुडाँडा भंगरा कृषक समुहका अध्यक्ष उदयराज खनाल बताउँछन् । उनी भन्छन्, ‘मेहनत गरेर च्याउ फलायौँ । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ । छ्यापछयाप्ती बजार पाउन सकेका छैनौँ । उचित बजार खोजिरहेको छौँ ।’
यसको मुल्य अलिक मंहगो पर्ने भएकाले बजार नपाएको उनले बताए । सुरुमा ७०० रुपैयाँ प्रतिकिलोमा विक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि अहिले मुल्य घटाएर ६०० रुपैयाँमा विक्री भईरहेको छ । बजार पाउन मुस्किल भएपछि अझै मुल्य घटाउने तयारी भएको खनालले जनाए । यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातीको च्याउलाइ चिन्न नसकेको कारण बजार नपाएको उनको बुझाई छ ।
यो वर्ष असोज अन्तिम यता २०० किलो बढी च्याउ उत्पादन भईसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले सताएको किसान बताउँछन् । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर विक्री गरिन्छ । सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आंशका गर्दै ग्राहकले खरिद गर्न नखोज्ने कृषक समुहका सचिव खेम गुरुङ बताउँछन् । ‘पहिलो चरणमा त हामीले जनप्रतिनिधीलाई बेचेका छौँ । जनप्रतिनिधीले किनेपछि त अरुले पनि किन्लान ठानेर’, उनले सुनाए । पार्टी प्यालेस, होटल, रेष्टुरेन्टमा पनि विक्रीका लागि प्रयास भईरहेको उनले बताए ।
किसानले च्याउ खेतीमा हालसम्म झण्डै पाँच लाख रुपैयाँ लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ को कार्यालयले विउ खरिदमा गत आर्थिक बर्षमा ५० हजार रुपैयाँ अनुदान दिएको थियो । समुहमा आबद्ध किसानले ४८ हजार रुपैयाँ नगद लगानी गरे । ‘धेरै त हामीले श्रमदान नै गरेका छौँ’, उपाध्यक्ष नेत्रबहादुर गुरुङले बताए । बाङ्गे रह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा निशुल्क दिएको गुरुङले जानकारी दिए । तार्कुडाँडा भंगरा खानेपानी उपभोक्ता समितिले निशुल्क आवश्यक पानी उपलब्ध गराएको छ ।
कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउन टनेल बनाईएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भएपनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । ‘स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदान भन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ’, उनले भने । किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखी फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एकपटक मुढामा विउ रोपेपछि पाँच बर्षसम्म अर्थात मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ ।