तनहुँमा राहदानी फारम सङ्कलन बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा राहदानी फारम सङ्कलन बन्द

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७८, शुक्रबार

    दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले राहदानी फारम सङ्कलन कार्य बन्द गरेको छ । राहदानी विभागले मङ्सिर १ गतेदेखि विद्युतीय राहदानी जारी गर्ने कार्य प्रारम्भ गरेकाले प्रशासनले राहदानी फारम सङ्कलन कार्य बन्द गरेको हो ।

    जिल्ल प्रशासन कार्यालयहरुबाट एमआरपी फारम सङ्कलन नगर्न निर्देशन दिएकाले जिल्लाबाट फारम सङ्कलन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यस कार्यालयबाट विद्युतीय राहदानी लागू नभएसम्मका लागि सङ्कलन कार्य बन्द गरिएको उहाँले बताए ।

    दु्रत सेवाका लागि अत्यन्त जरुरी भएको कारण र प्रमाण, राष्ट्रिय परिचयपत्रको फारम भरी प्राप्त भएको नम्बर सहित राहदानी विभाग जान प्रशासनले अनुरोध गरेको छ ।

    नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

    विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।