श्रमिक ठगिनु हुँदैन भन्नेमा दृढ छु : मन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रमिक ठगिनु हुँदैन भन्नेमा दृढ छु : मन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७८, शुक्रबार

    काठमाडाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    “वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हुँदैन भन्नेमा म दृढ छु”, उनले भने “यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।” वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्दै उनले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै पनि मुद्दाको पुनरावलोकन नगर्ने बताए ।

    उनले भने “पीडितलाई न्याय दिलाउन मन्त्रालय र वैदेशिक रोजगार विभाग कटिबद्ध छ ।” वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउनुपर्ने, वैदेशिक रोजगारबाट फर्केका युवाको सीप परीक्षण, वैधानिक तवरबाट विप्रेषण भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुनः एकीकरणसम्बन्धी निर्देशिक छिट्टै मन्त्रालयबाट स्वीकृत हुने बताए ।

    मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए । सरकारले खाडीसहित केही मुलुकका लागि सेवा शुल्क १० हजार तोकेको छ तर म्यानपावर कम्पनीले श्रमिकसँग तोकिएभन्दा ठूलो रकम लिँदै आएका छन् भन्दै उनले एक महिनाको पारिश्रमिक बराबरको रकम सेवा शुल्क तोक्ने विषयलाई अगाडि बढाउन मन्त्रालयले तयारी गरेको बताए ।

    “गन्तव्य मुलुकसँगको श्रम सम्झौतालाई कामदार मैत्री बनाउने र श्रम सम्झौतालाई पारदर्शी बनाउन सरकार लागेको छ”, उनले भने “सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने, विप्रेषणलाई वैधानिक तबरबाट भित्र्याउन सरकारले तयारी गरेको छ ।”

    वैदेशिक रोजगार अध्येता रामेश्वर नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन यससँग सम्बन्धित कानून कार्यान्वयनमा जोडदिनुपर्ने बताए ।