रक्सी खाएर वृद्धाकाे हत्या गर्ने महेन्द्र सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रक्सी खाएर वृद्धाकाे हत्या गर्ने महेन्द्र सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०७८, शनिबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा वेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्यामा संलग्न प्रतिवादीलाई प्रहरीले सार्वजनिक गरेको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई शिशाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यास नगरपालिका–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

    कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादीले ती वृद्धालाई ढुङ्गाले हानेर हत्या गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । बुढाको चौतारा नजिक सार्वजनिक ठाटीमा बसोबास गर्दै आएकी वृद्धालाई प्रतिवादीले मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकोमा हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमिल्सिनाले बताए । प्रहरीका अनुसार घटनाको बारेमा प्रहरीलाई मङ्सिर १ गते खबर आएको र अनुसन्धानको करिब २० घण्टामा प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    “टाउकोमा ढुङ्गाले हानेर कर्तव्य गरी प्रतिवादी राति नै घर गएको अनुसन्धानबाट खुलेको छ, उनले दुई गिलास मादक पदार्थ सेवन गरेको देखिएको छ,” तिमिल्सिनाले भने, “थप अनुसन्धान भइरहेको छ ।” घटनाको अनुसन्धानका लागि प्रहरीले पोखराबाट तालिमप्राप्त कुकुर समेत ल्याएको थियो ।

    कात्तिक ३० गते कामको शिलशिलामा छिमेकी यामबहादुर तामाङको घरमा दिनभर परालको दाइँ हाल्ने काम गरी राति ८ः३० बजेतिर खाना खाएर दुरा सेवा समाजको भवनमा नाचगान कार्यक्रम भएकाले सोही स्थानतर्फ जाँदै गर्दा बाटोमा विक्रम दुरालाई भेटी निजको मोटरसाइकलमा चढी सँगै गएको र विक्रम दुराले चिया खाएको तर निज महेन्द्र कुमालले दुई गिलास घरेलु मदिरा खाएको अनुसन्धानबाट खुलेको छ । “महेन्द्र कुमालले उच्छृङ्खल व्यवहार गरेपछि विक्रम दुराले घरमा फर्किने कुरा गर्दा निजले जान नमानेको तर पछि विक्रम दुराको मोटरसाइकलमा चढी सँगै घर फर्किएका रहेछन्,” तिमिल्सिनाले भने, “घर नजिक पुग्ने समयमा निज प्रतिवादीले आफू हिँडेर घर जाने कुरा गरेकाले विक्रम दुराले निजलाई मोटरसाइकलबाट उतारिदिएका थिए ।”

    प्रहरीका अनुसार त्यसक्रममा महेन्द्र घरतर्फ नगई घर नजिकै रहेको बुढाको चौतारा नजिक वृद्ध महिला भएको ठाउँमा गई हातको पाखुरामा समात्दा ती वृद्धाले चिच्चाएकी थिइन् । वृद्धाले चिच्याएपछि प्रतिवादीले निजलाई धकेलेर लडाई नजिकै रहेको ढुङ्गाले टाउको समेतको भागमा हानेर भागेका थिए ।

    प्रहरीले घटनास्थबाट क्याप बरामद गरेकामा निज क्याप महेन्द्रको रहेको खुलेको जनाइएको छ । “प्रहरीले निजलाई सोधपुछ गर्दा उक्त क्याप आफ्नो भएको लगायत उल्लेख गरी प्रतिवादीले सनाखत गरेका छन्,” प्रनाउ तिमिल्सिनाले भने, “निजले ढुङ्गाले हानी कर्तव्य गरी मारेको भनी स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको छ ।”

    मादक पदार्थ सेवन गरी उत्तेजनामा आएर महिलाको हत्या भएको हुन सक्ने बताउँदै प्रनाउ तिमिल्सिनाले भने, “जबरजस्ती करणीको प्रयासबारेमा अहिल्यै भन्न सकिदैन, थप अनुसन्धान गर्दैछौ ।”