आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि बिहीबारसम्म सञ्चालित आँखा शिविरमा एक सय ८४ वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरिएको छ । सोमबारदेखि सुरु शिविरमा बिहीबारसम्म एक सय ८४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । शिविर एक दिन थप गरेर बिहीबारसम्म लम्ब्याइएको थियो ।
नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहिन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा शिविर सञ्चालन गरिएको थियो । शिविरमा पाँच सय भन्दा बढीको आँखा परीक्षण गरिएको नेत्रहिन सङ्घ पुनस्र्थापना कार्यक्रमका फिल्ड अधिकृत प्रेम महर्जनले जानकारी दिए ।
“तीन दिनसम्म शिविर सञ्चालन गर्ने तय भएकामा माग अत्याधिक भएपछि एक दिन थप गर्नुप¥यो, ५० जनाको आँखाको आज शल्यक्रिया गरिएको छ,” महर्जनले भने । शिविरमा अधिकांश आँबुखैरेनीका र केही गोरखाका सर्वसाधारणले सेवा लिएका छन् ।
आँखामा मोतीयाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर आँखा अस्पतालका डा. रञ्जितकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् ।
आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको बताए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौ जानुपर्ने बाध्यता थियो,” उनले भने, “गाउँपालिकाले पनि अब शल्यक्रिया सहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”