दमौली : राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटीका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा शनिबार एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ ।
सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिने माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । गत शनिबार देशभरका वडाहरुमा एकसाथ अधिवेशन भएको थियो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ ।
वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।