दुलेगौँडा : स्थानीयस्तरबाट न्याय सम्पादन गर्नलाई शुक्लागण्डकी नगरपालिकाले मेलमिलापकर्ता उत्पादनमा जोड दिएको छ । नगरवासीलाई सहज तरिकाले न्यायको पहुँचमा पु¥याउने उदेश्यले मेलमिलापकर्ता उत्पादनमा नगरपालिकाले जोड दिएको हो ।
नगरका ६ वटा वडाबाट छनोट भएका ३० जना मेलमिलापकर्तालाई नगरपालिकाको न्यायिक समितिले ४८ घण्टे आधारभुत तालिम दिएको छ । वडा नम्बर २ देखी ७ सम्मका ३० जना मेलमिलापकर्तालाई २२ देखी २९ मंसिरसम्म आधारभुत तालिम दिइएको हो । तालिम लिएकालाई बुधबार मेलमिलापकर्ताको प्रमाणपत्र वितरण गरिएको छ ।
मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण गर्दै उपमेयर एवम न्यायिक समिति संयोजक सविता रसाईलीले टोलमै पुगेर विवाद समाधान गर्न मेलमिलापकर्ता तयार पारेको बताईन् । वडास्तरमै विवाद निरुपण गर्दा जनतालाई सहज हुने उनको भनाई छ । ‘अधिकार क्षेत्र बाहिरका मात्रै विवाद अदालत पठाउनेछौँ । मेलमिलापकर्ताले स्थानीयस्तरमै विवाद निरुपण गर्दा न्यायको प्रत्याभुति गराउन सकिन्छ । छिटो र निष्पक्ष न्याय दिन मेलमिलापकर्ताले भुमिका खेल्नुपर्छ । समय घर्किएपछि दिएको न्यायको अर्थ रहदैन्’, उनले भनिन् ।
स्थानीयस्तरमै विवादको समाधान हुदाँ समयसँगै खर्चको बचत हुने उनले बताईन् । मेलमिलापकर्तालाई नगरपालिकाले सशक्त बनाउने योजना रहेको उपमेयर रसाईलीले बताईन् ।
न्यायिक समिति सदस्य थमनबहादुर आलेले जनतालाई न्यायको पहुँचमा पु¥याउन नसके स्थानीय सरकारको अस्तित्व नरहने उल्लेख गरे ।
सामुदायिक मेलमिलापकर्ता समाजका केन्द्रिय सदस्य दुर्गाबहादुर महतले मेलमिलापकर्ताले न्याय सम्पादन गर्दा दिघो शान्तिलाई ध्यान दिनुपर्ने उल्लेख गरे । मेलमिलापकर्ता सेवक भएर विभेद नगरीकन न्याय सम्पादन गर्नुपर्नेमा उनको जोड छ ।
४८ घण्टे आधारभुत तालिममा सहभागि मेलमिलापकर्ता उदयराज खनालले अब आफुले दुवै पक्षको जित र हित हुनेगरी न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाए ।
तालिम समापनको अवसरमा न्यायिक समिति शुक्लागण्डकीका सदस्य पदमप्रसाद तिम्लिसिना, शुक्लागण्डकी मेलमिलाप समाजका संयोजक राजन रिमाल, सचिवालय सदस्य घनश्याम भट्टराई, शुक्लागण्डकी नगरपालिकाका कर्मचारी किसान परियार, प्रशिक्षार्थी श्रीकला विक, सरस्वती सिग्देल लगायतले बोलेका थिए ।
सहभागी मेलमिलापकर्तालाई जिल्ला अदालत तनहुँका मुख्य न्यायधिश हरिश्चन्द्र ढुंगाना, सामुदायिक मेलमिलापकर्ता समाजका केन्द्रिय सदस्य दुर्गा बहादुर महत, राजन रिमाल, घनश्याम भट्टराई, चेतनारायण पौडेल लगायतले प्रशिक्षण दिएका हुन् ।
दोस्रो चरणमा बाँकी वडाका ३५ जना मेलमिलापकर्तालाई ४८ घण्टे आधारभुत तालिम दिईनेछ । यसअगाडी नगरपालिकामा ६० जना मेलमिलापकर्ता सुचिकृत भईसकेको थिए ।