जिल्ला अधिवेशनमा जुट्यो एमाले तनहुँ, नेताहरु भन्छन् : सर्वसम्मत नेतृत्व छान्छौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला अधिवेशनमा जुट्यो एमाले तनहुँ, नेताहरु भन्छन् : सर्वसम्मत नेतृत्व छान्छौ

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७८, मंगलवार

    दमौली । नेकपा एमाले तनहुँ जिल्ला कमिटी नवौं अधिवेशनको तयारीमा जुटेको छ । विसं २०६९ चैत २९ गते आठौ अधिवेशन सम्पन्न गरेको एमाले तनहुँले पुस २३ र २४ गते नवौं अधिवेशन गर्दैछ ।

    अधिवेशन भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको एमाले तनहुँले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले जिल्ला अधिवेशनका लागि ८५ वटै वडाबाट प्रतिनिधि छनौट गरिएको जानकारी दिए । उनका अनुसार सबै वडा, विभिन्न जनवर्गीय सङ्गठन लगायतबाट प्रतिनिधि छनौट सम्पन्न गरिएको छ ।

    अधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, आर्थिक, प्रचारप्रसार, मञ्च व्यवस्थापन, खाना, स्वयंसेवक परिचालन लगायतका उपसमिति गठन गरिएको छ । अधिवेशनका लागि जिल्ला कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गरिएको छ ।

    वडा अधिवेशन सर्वसम्मत गरिएको र वडाबाटै सर्वसम्मत प्रतिनिधि छनौट भएकाले जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमै चयन गरिने सिग्देलले बताए । “नेतृत्वको विकास गर्नुपर्छ भनेर म पुनः अध्यक्षमा दोहोरिने छैन,” सिग्देलले भने । क्रियाशीलता, पार्टीभित्रको योग्यत लगायतलाई मापदण्ड बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने सिग्देलले दावी गरे ।

    प्रचार विभागका प्रमुख एवं एमाले कार्यवाहक सचिव विष्णुभक्त सिग्देलले सर्वसम्मत नेतृत्व चयन गरी एकताको सन्देश दिने बताए । ८५ वटै वडाबाट पाँच सय भन्दा बढी प्रतिनिधि छनौट गरिएको छ । दमौलीस्थित खुल्लामैदानमा उद्घाटन र दमौली पार्टी प्यालेसमा बन्दसत्र गरिने सिग्देलले बताए । अधिवेशनको प्रचारप्रसारका लागि स्वागतद्वार, बजार क्षेत्रमा झण्डा राख्ने कामलाई तीव्रता दिइएको सिग्देलले बताए ।

    एमालेको जिल्ला कमिटी एक सय पाँच सदस्यीय हुनेछ । अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने हुँदा नेतृत्वको लागि नेताहरुले आकाङ्क्षा देखाएका छन् ।