पड्के रोग नियन्त्रणका लागि खोप अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पड्के रोग नियन्त्रणका लागि खोप अभियान

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७८, बुधबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो ।

    याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो । ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि बुधबारदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ भट्टराईको दुई वटा गाई मरेको थियो । गाई मरेसँगै पड्के रोगको शङ्का गरिएको थियो ।

    “केन्द्रबाट खोप मगाएर नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छौँ, गाई मरेका फार्मका ४३ वटा गाईलाई पड्के रोग विरुद्धको खोप लगाउँछौ,” डा श्रेष्ठले भने । खोप लगाउनका लागि पशु प्राविधिक पिपिई लगाएर फार्ममा पुगेका छन् ।

    यहाँका गाईलाई पड्केसँगै खोरेत रोग पनि देखिएको छ । त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको डा. श्रेष्ठले बताए । “खोरेत देखिएकाले पनि समस्या भएको छ, केही गाई बिरामी परेका छन्,” उनले भने । पड्के सबै प्रकारको घरपालुवा पशु साथै मानिसमासमेत लाग्ने सबैभन्दा डरलाग्दो सरुवा रोग हो । यो रोग ‘ब्यसिलस एन्थ्राशीश’ नमाक जीवाणुबाट लाग्छ ।