लमजुङ । बुद्ध युवा क्लबले २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो ।
बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा सन्दीपले गोल गर्दै बुद्धलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि १५ औं मिनेटमा यान्निकले गोल गर्दै बुद्धलाई २-० को जित दिलाए ।
उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले ३ लाख प्राप्त गरेको छ ।
यस अघि बुद्धले दोस्रो सेमिफाइनलमा समाज कल्याणलाई ३-० ले हराएको थियो ।
यस्तै पहिलो सेमिफाइनलमा श्री भगवतीले त्रिवेणी युवा क्लबलाई ३-० ले हराएको थियो ।
प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो ।