तनहुँमा धान उत्पादन घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा धान उत्पादन घट्यो

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७८, बिहीबार

    दमाैली । तनहुँमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यस वर्ष १६.४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो ।

    यस वर्ष ४१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताइन् । १० हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यसमध्ये एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा बाढी, पहिरो र वर्षाले क्षति पुगेको थियो ।

    गत वर्ष जिल्लामा १२ हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको थियो । एक हजार सात सय ८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको ज्ञान केन्द्रले जनाएको छ ।

    बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनी धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । “यो वर्ष धान रोप्ने बित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाका कारण उत्पादन घटेको हो,” तिवारीले भने, “अर्कोतर्फ वर्षेनी धान लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन कम हुँदैछ ।”

    गाउँका टारी खेत जनशक्ति अभावमा बाँझो हुँदै गएको छ । राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुँदा धान झुल्नुको सट्टा बडेमानका कङ्क्रिटका घर ठडिएको तिवारीले बताए । “बजार क्षेत्रको खेतमा धान फलाउनु भन्दा घडेरीमा विक्री गर्दा राम्रो मूल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्,” उनले भने “यसले गर्दा पनि धानको उत्पादन घटिरहेको छ ।” सरकारले भूमि सम्बन्धी नीति बनाएर खेतीयोग्य जमिनमा घरटहरा बनाउन नपाइने प्रावधान लागु नगरेसम्म वर्षेनी धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने तिवारीको भनाई छ ।

    यो वर्ष चैते धान उत्पादनमा भने वृद्धि भएको छ । कार्यालयका अनुसार यस वर्ष छ हजार आठ सय ४५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा १६ हजार आठ सय ९८ मेट्रिक टन चैते धान उत्पादन भएको छ । गत वर्ष चार हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, व्यास नगरपालिकास्थित शेराफाँट, बाह्रबिसे, साँगे, तनहुँसुर, भानु नगरपालिकास्थित सेपाबगैंचा, कलेस्ती, पुर्कोट, घिरिङ गाउँपालिकास्थित गजरकोटको अत्रौली, आँबुखैरेनी लगायतका फाँट धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मन्सुली, मकवानपुरे, रामधान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् ।

    टाइसिन, बासमती लगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन् । तर रैथाने जातका धान किसानले निकै कम लगाउने कार्यालयले जनाएको छ ।