दमाैली । नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई कुनै शक्ति हराउन नसक्ने दावी गरेका छन् । नेकपा एमाले तनहुँको आजदेखि सुरु भएको नवौं अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले एमालेले जनताको बीचमा जरो गाडिसकेकाले नेपालका कुनै पनि शक्तिले एमालेलाई पराजित गर्न नसक्ने बताए ।
एमालेलाई हराउँछौ भनेर सपना नदेख्न आग्रह गर्दै गुरुङले एमाले जनताको बीचमा लोकप्रिय छ भन्ने चितवनमा सम्पन्न दशौं महाधिवेशनले पुष्टि गरेको उल्लेख गरे । “एमालेसँग एक्लै लड्ने आँट नभएपछि गठबन्धनको सहारा लिनुपरेको छ, एकथरी नेता गठबन्धन टुटाउन हुँदैन भनिराखेका छन्,” उनले भने “किन त्यसो भनिराखेका छन्, सबैलाई थाहा छ ।”
गुरुङले गठबन्धन चुनावसम्मै जान्छ भनेर केही पार्टीका नेताले सपना देखेको भन्दै दिवासपना देखिरहेको बताए । “एमालेलाई पत्तासाफ गराउँछौ भनेर सपना देख्न छाडे हुन्छ, आगामी निर्वाचनमा एमाले ठूलो शक्तिको रुपमा उदय हुन्छ,” गुरुङले भने ।
एमाले पोलिटव्युरो सदस्य टुकराज सिग्देलले राष्ट्रियताको सवालमा देशलाई माया गर्ने पार्टी एमाले भएको बताए । केन्द्रीय सदस्य भगवती न्यौपानेले कम्युनिष्ट आन्दोलनलाई उचाईमा पु¥याउन आवश्यक रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र भएको बताइन् । पूर्व केन्द्रीय सदस्य एकबहादुर रानाले विद्रोही पार्टीलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मूलधारमा ल्याउन सफल भएको बताए ।
भोलिसम्म चल्ने अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ८५ वटै वडाबाट चयन भएर आएका ६ सय प्रतिनिधि सहभागी छन् । अधिवेशनले एक सय पाँच जिल्ला कमिटी निर्वाचित गर्नेछ ।
जिल्ला अध्यक्षमा हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित हुने निश्चित छ । अध्यक्ष केदार सिग्देलले नेतृत्वमा नदोहोरिने बताएकाले श्रेष्ठको विकल्प नभएको बताइएको छ ।
उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापाको दावी छ । सचिवमा हालका कार्यवाहक सचिव विष्णुभक्त सिग्देल र सचिवालय सदस्य राजेश्वर ढकालको दावी छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल लगायतको दावी छ ।