सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७८, शुक्रबार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् । सरसफाइ अभियन्ता नमस्तेलाल भुमि श्रेष्ठको पुस्तक ‘सकारात्मक सोंच, खोज र रोज’को विमोचन गर्नुहुँदै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरे ।

    धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्दै उनले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताए । देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र बढी उपलब्धिमुलक बनाउने योजना सरकारले अघि बढाएको उनकाे भनाई थियाे ।

    उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको बताउँदै उनले वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्न पुनर्एकीकरणको योजना अघि बढाएको बताए ।

    नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने बताउँदै उनले देशलाई विकसित गर्ने
    र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोंचका साथ अघि बढ्न आग्रह गरे ।

    कार्यक्रमका वक्ताहरुले तनहुँको बन्दिपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइ भाषा, संस्कृति, सामुदायिक विकास, खानेपानी तथा सरसफाइको क्षेत्रमा सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठले पुर्याएकाे याेगदानकाे चर्चा गरे । श्रेष्ठले विद्यालय सरसफाइ कार्यक्रम, सरसफाइ महोत्सव, हातधुने अभियान, खुला दिशामुक्त अभियान जस्ता राष्ट्रिय स्तरका सरसफाइ अभियानमा नेतृत्वदायी भुमिका खेलेका छन् । सरसफाइ र सामाजिक सेवाको यात्रामा आफुले सिकेका र अनुभुति गरेका बिषयहरु समेटेर श्रेष्ठले ‘सकारात्मक सोंच, खोज र रोज’ पुस्तक लेखेका हुन् ।