दमाैली । तनहुँको भानु नगरपालिका–१३ आहालडाँडामा निर्धारित समय अगावै खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँमार्फत् निर्माण गरिएको आहालडाँडा लोलार लिफ्टिङ योजना म्याद भन्दा छ महिना अगाडी निर्माण सम्पन्न भएको हो ।
चालु आर्थिक वर्षको असार मसान्तभित्र आयोजना निर्माण गर्ने म्याद रहेको डिभिजन कार्यालयका इन्जिनियर बामदेव पौडेलले जानकारी दिए । कार्यालयको रु ९१ लाख ६६ हजारको लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट ३५ घरमा खानेपानी सुविधा पुगेको छ ।
घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुसी भएको उपभोक्ता समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङले जानकारी दिए । खानेपानीको अभावमा पधेंरा, कुवाको पानी उपभोग गर्न बाध्य स्थानीयवासीलाई घरमै धारा जडानपछि सहज भएको उनले बताए । “खानेपानीको अभावमा यहाँका स्थानीयवासीले दुःख बेहोर्नुप¥यो, अब दुःखका दिन गए,” उनले भने ।
खानेपानी योजनाको आज उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले जनताको समस्या समाधानका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारले प्रदेशका जनताको महत्वपूर्ण आवश्यकता तथा समस्या समाधानमा लागिपरेको बताउँदै भने “प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत पानीको समस्या रहेको यस क्षेत्रमा धारा जडान गरी सहज जीवनयापनलाई सहयोग पुगेको छ, पानीको जोहो गर्नकै लागि लामो समय खर्चनुपर्ने समस्या हटेको छ ।”
खानेपानी सहज भएपछि पर्यटकीय क्षेत्र टुटेपानी क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने उनको भनाई छ । खानेपानी आयोजनाले नेपालकै उत्कृष्ट परिचय बनाएको टुटेपानी होमस्टेको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने मन्त्री विश्वकर्माको भनाई छ ।
“यो ठाउँ होमस्टेको लागि उपयुुक्त गन्तव्य हो, यहाँका ठाउँ रमणीय छन्, यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको पाइएको छ, घर नजिकै पानी नहुँदा समस्या थियो, तर अब आयोजना निर्माण भएको छ, पानी लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ,’’ मन्त्री विश्वकर्माले भने ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले पानीको समस्या समाधान भएपछि यस क्षेत्रमा पर्यटक आगमन बढ्ने बताए ।