दुलेगौडा । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घको तेस्रो साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगी व्यवसायी सामाजिक उत्तरदायित्वमा अग्रसर हुनुपर्ने बताए।
व्यापार, व्यवसायबाट कमाएको केही रकम सामाजिक काममा खर्च गर्न ढकालले सुझाव दिए । वरिष्ठ उपाध्यक्ष ढकालले बैङ्कमा देखिएको तरलताका कारण निजी क्षेत्रलाई समस्या परेको बताउँदै भने, “अर्थतन्त्रमा तरलता देखिँदा ऋण लगानी हुन सकेन, यसले व्यवसायीलाई मर्का पारेको छ । यसको समाधानका लागि निजी क्षेत्रबाट पनि सहयोग गर्नुपर्छ ।” निजी क्षेत्रको सहयोग बिना देश विकास हुन नसक्ने भएकाले सरकारले निजी क्षेत्रलाई साथसाथै लिएर हिँड्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका गण्डकी प्रदेश अध्यक्ष सन्जिबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति लगायतले निजी क्षेत्रले देशको आर्थिक विकासमा सहयोग पु¥याएको बताए ।
सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले शुक्लागण्डकीका अध्यक्ष मुक्ति तिमिल्सना, नेकपा एसका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, सङ्घका उपाध्यक्ष सुजित हिराचन, महासचिव नारायण श्रेष्ठ लगायतले धारणा व्यक्त गरेका थिए ।
यसैबीच सङ्घले उपाध्यक्ष पदमा केदार तिमिल्सनालाई मनोनित गरेको छ ।