दमौली । ऋषिङ गाउँपालिकाले आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थ तामाङले जितेका छन् । मङ्गलबार आयोजित म्याराथनमा ४२ किमि दूरी पार गर्दै तामाङले उपाधि जितेका हुन् । उक्त दूरी उनले २ घण्टा ५२ मिनेट ३ सेकेन्डमा पूरा गरे ।
प्रतियोगितामा देवराज महतारा द्वितीय भए । उनले उक्त दूरी २ घण्टा ५४ मिनेट ४८ सेकेन्डमा पूरा गरे । तृतीय भएका सुमन कुलुङ राईले उक्त दूरी ३ घण्टा ५ मिनेट ४६ सेकेन्डमा पूरा गरे ।
धारुङ भञ्ज्याङबाट सुरु भएको दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो । खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुनेलाई रु १० हजार प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
महिलातर्फको ४ किमि दूरी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना भएकी छन् ।
महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिएको छ ।