सिंहदरबार प्रवेशमा सरकारको कडाइ : सबै प्रवेश पास खारेज गर्ने गृहको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिंहदरबार प्रवेशमा सरकारको कडाइ : सबै प्रवेश पास खारेज गर्ने गृहको निर्णय

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७८, बुधबार

    काठमाडौं । कोरोनाभाइरस संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सवै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ ।

    मन्त्रालयले अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने पनि जनाएको छ ।

    यस्तै सरसफाईसँग सम्बन्धित व्यक्तिको हकमा यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिइने गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव प्रदिपकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइने छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेना गृहको हकमा बिहीबार एक दिनका लागि यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने शुक्रबारदेखि नयाँ परिचयपत्र जारी गर्नुपर्नेछ ।

    गृह मन्त्रालयबाट सहमति प्राप्त गर्नका लागि मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । कोभिड–१९ ओमिकोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर गरी सिंहदरबार परिसरभित्र प्रवेश गर्न कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।