कोरोना जोखिम नियन्त्रणका लागि आदेश जारी, सेवा लिन खाेप कार्ड अनिवार्य (आदेश सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना जोखिम नियन्त्रणका लागि आदेश जारी, सेवा लिन खाेप कार्ड अनिवार्य (आदेश सहित)

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७८, बिहीबार

    दमाैली । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुस २९ राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म लागू हुन गरी आदेश जारी गरेका हुन् ।

    कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रजिअ अर्यालले आदेश जारी गरेका हुन् ।

    आदेशमा कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुनपानीले हात धुन आग्रह गरिएको छ ।

    राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, नेपाल सरकारले तोकेका मापदण्ड पूर्णरुपमा पालना गर्न आदेशमा अनुरोध गरिएको छ ।

    २५ जना भन्दा बढी मानिसको उपस्थित हुने गरी कुनै पनि किसिमको भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका काम नगर्न, सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई या त्रा पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड साथमा राख्न र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन आदेश जारी गरिएको छ ।

    साथै माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिने आदेशमा उल्लेख छ । आदेशमा स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी निःशुल्क एन्टिजेन टेष्ट परीक्षणको दायरा फराकिलो बनाई नियमित परीक्षण गर्ने, सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।