जीप दुर्घटना : मृतकको सङ्ख्या छ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जीप दुर्घटना : मृतकको सङ्ख्या छ पुग्यो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ५० वर्षीया विममाया गुरुङ र ४८ वर्षीय सन्तबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा (मृतक बालिकाको आमा), ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महिने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    घटनाले हटिया गाउँ शोकमा डुबेको छ । ‘घटनाले हटियालाई मात्र होइन, सिंगो बन्दीपुर गाउँपालिकालाई नै विक्षिप्त बनाएको छ’ गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले भने, ‘कच्ची बाटो पार गर्दै आएको जिप पिच बाटोमा दुर्घटनामा पर्‍यो ।’