दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनाका मृतकका आफन्तले दुई दिनपछि शव बुझेका छन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले आज शव बुझेका हुन् । सहमतिसँगै दमौली अस्पतालमा शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।
सहमति अनुसार साहुले तत्कालै किरियाखर्च बापत प्रति मृतक रु ५० हजारका दरले रकम उपलब्ध गराउने भएका छन् । स्थानीयवासी सिद्धान्त थापा मगरका अनुसार बाँकी रु चार लाख ५० हजार २५ दिनभित्र उपलब्ध गराउने सहमति भएको छ । “साथै अस्पतालमा उपचाररत घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएको छ,” उनले भने, “पोष्टमार्टम पश्चात् शव आफन्तको जिम्मा लगाइएको छ ।”
मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै दुईदिनसम्म आफन्तले शव बुझेका थिएनन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जीपका चालक र साहुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार पीडित परिवारको तर्फबाट जाहेरी आएकाले आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको छ ।
जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा आठ जना घाइते भएकामा दुई जना उपचारपश्चात् घर फिर्ता भएका छन् । २१ वर्षीया जमुना थापा र १८ वर्षीय कुमार थापा उपचारपश्चात् घर फिर्ता भएका हुन् । अन्य घाइतेको अवस्था पनि सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपीन थापाको उपचार भइरहेको छ ।
दुर्घटनामा बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, ९ महिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको थियो ।