दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति सम्मान प्रदान गरिएको छ । सामाजिक जागरणमा पु¥याएको योगदानको कदर गर्दै सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले आश्रमलाई उक्त सम्मान गरेको हो ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई रु एक लाख २५ हजार राशीको सम्मान प्रदान गरिएको छ । त्यसैगरी स्व. सेतुलीमाया शाक्यको परिवारका तर्फबाट संरक्षक विश्व बाक्य र बुलु शाक्यबाट आश्रम सञ्चालनका लागि थप रु एक लाख उपाध्यक्ष शकुन्तला आले र सचिव निर्मला मल्ललाई हस्तान्तरण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका पूर्व अध्यक्ष भूपनीधि पन्त रहेका थिए ।
महिलाद्वारा सञ्चालित आश्रमले अशक्त, असहाय, विपन्न र बेसहारा ज्येष्ठ नागरिकको संरक्षण गर्दै आएको छ । महिलाहरुले ज्येष्ठ नागरिकको दिवङ्गत हुँदा समेत आफैले शव बोकेर घाटसम्म लैजाने गरेका छन् । आश्रमका सचिव निर्मला मल्लले आश्रमलाई प्रदान गरिएको सम्मानले महिलाहरुलाई हौसला मिलेको बताइन्।
विसं २०७० वैशाख १ गतेदेखि महिलाको सक्रियतामा सञ्चालन भएको आश्रममा हाल तीन जनाले आश्रय लिइरहेका छन् । चार जनालाई भने छोराछोरीले घर लगिसकेका छन् । आश्रममा आश्रय लिएकामध्ये पाँच जनाको मृत्यु भएको छ ।
आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५÷४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ । दाताहरुको सहयोगले आश्रम सञ्चालनमा सहज भएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरुको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव मल्लले जानकारी दिइन्।
“व्यक्तिहरुले जन्मदिन, पुण्यतिथि लगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगको कारण आश्रम सञ्चालनमा कठिनाई भएको छैन,” मल्लले भन्नुभयो । विभिन्न पेशा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको मल्लले बताइन्।
३० जना महिलाहरुबाट शुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या ३ सय ३० पुगेको छ । असहाय एवं आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको मल्लले जानकारी दिइन्।
स्थापनाकालमा ३० जना महिलाले रु एक÷एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । मल्लका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहार सुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ सालमा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।