द्वन्द्वका क्रममा मारिएको बीस वर्षपछि काजकिरिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    द्वन्द्वका क्रममा मारिएको बीस वर्षपछि काजकिरिया

    पत्रपत्रिकाबाट

    ५ असाेज, २०८१

    दमौली । सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मारिएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले मङ्गलबार देवघाटमा खनालको मृत शरीरको प्रतिकको हिन्दु धर्म अनुसार दाहसंस्कार गरि काजकिरिया सुरु गरेका हुन् ।

    विसं २०५८ माघ २३ गते साविक छाङ गाविस वडा नम्बर ९ को साउनेपानीमा सुरक्षाकर्मीद्वारा हत्या गरिएका खनालको परिवारले बीस वर्ष पछि दाहसंस्कार र काज किरिया गरेको हो । गोरखाको साविक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ ।

    मृतक खनालका दाई हरिश्चन्द्र खनालका अनुसार यो बीचमा धार्मिक परम्परा अनुसार दाइको काजकिरिया गर्ने निर्णय भएपनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो ।

    मृतक खनालका माइला दाई इश्वरीप्रसाद खनाल भाइको किरिया बसेका छन् । तत्कालिन नेकपा माओवादीको तनहुँ जिल्ला कमिटीको सदस्य रहेका खनालको पार्टीको बैठकको क्रममा रहेको अवस्थामा सुरक्षाकर्मीको आक्रमणमा परि मृत्यु भएको थियो । पार्टीको बैठक भइरहेको समयमा सुरक्षाकर्मीले घेरा हालेर खनाल सहित ८ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेको थियो । मृत्यु पश्चात शवलाई सुरक्षाकर्मीले नै खाल्डो खनेर गाडेको थियो । मृत्यु हुँदा खनाल अविवाहित थिए ।

    उक्त घटनामा तनहँका खनाल सहित व्यास नपा ८ रिस्तीका भरतचन्द्र अधिकारी र कलावती अधिकारी, पुर्काेटकी कलावती पौडेल, खैरेनीटारकी सन्तोषी बराल र गीता विक, श्याम्घाका बनबहादुर कुमाल र मिर्लुङका गणेश परियारको पनि हत्या भएको थियो । (लोकवाणी दैनिकबाट)