दमाैली । जिल्ला कोभिड व्यवस्थापन समितिले तनहुँका शैक्षिक संस्था माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारको निर्णय बमोजिम समितिले माघ १५ गतेसम्म बन्द रहेको शैक्षिक संस्थालाई मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा आज जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक गतिविधि मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्न भनिएको छ । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्न आदेश गरिएको छ ।
विद्यालय, विश्वविद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सरकारको आदेश बमोजिम गर्न भनिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माघ १० को सूचना बमोजिम १२ देखि १७ वर्ष उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई अभियानको रुपमा खोप दिने प्रयोजनका लागि माघ २० गतेसम्म विद्यालय खोल्न आदेशमा उल्लेख छ ।
यसैगरी सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरु भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म नगर्न आदेश जारी गरिएको छ ।