दमाैली । विपी विचार समाज तनहुँद्वारा गठित नेपाली काङ्ग्रेस लगायतका विभिन्न राजनैतिक दल र पक्षसँग प्रारम्भिक वार्ता गर्न गठित वार्ता टोलीको बैठक सोमबार दमौलीमा बसेको छ ।
वार्ता समितिका संयोजक नेपाली काँग्रेसका नेता हरिशरण पण्डितको संयोजकत्वमा गठित वार्ता समूहले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सन्र्दभ तथा नेपाली काङ्ग्रेस तनहुँको समग्र एकता एवं आउँदै गरेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा व्यापक छलफल गरेको छ ।
नेपाली काङ्ग्रेसका नेता गोविन्दराज जोशीको कारबाहीको सन्दर्भ र अर्का नेता रामचन्द्र पौडेलले पुस २७ गते तनहुँमा सञ्चारकर्मीसँगको अन्तरवार्तामा दिएको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस तनहुँलाई वार्ता मार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई अर्का नेता पौडेलले वास्ता नगरी अन्य पार्टीसँग गठबन्धन गर्ने कामलाई मात्र जोड दिईएकोमा यो वार्ता समितिले आश्चर्य व्यक्त गरेको छ ।
वार्ता समितिको सदस्यद्वय शुकुमलाल गुरुङ र केशरबहादुर गुरुङको उपस्थिति रहेको सो बैठकले काङ्ग्रेसकाे यही रवैया कायमै रहेमा विपी विचार समाज तनहुँ कठोर निर्णय लिन बाध्य हुने र त्यसको जिम्मेवारी तनहुँ काङ्ग्रेसले लिनु पर्ने समाजले जनाएको छ ।