डाङ्ग्रेखोल्सीको अतिक्रमित घर टहरा हटाउन व्यासले निर्णय गर्यो, कार्यान्वयन गरेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डाङ्ग्रेखोल्सीको अतिक्रमित घर टहरा हटाउन व्यासले निर्णय गर्यो, कार्यान्वयन गरेन

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७८, बिहीबार

    दमौली । व्यास नगरपालिकाले गत पुस २२ गते नियमित बैठकको प्रेस विज्ञप्ती सार्वजनिक गर्यो । विज्ञप्तीको बुँदा नम्बर ८ मा लेखिएको थियो – सार्वजनिक जग्गा मिची घर टहरा बनाएको गुनासो आएकाले त्यस्ता घर टहराको पहिचान गरी पन्ध्र दिनभित्र हटाउन लागेको र नहटाएमा नगरपालिकाको तर्फबाट हटाउने ।

    उक्त सूचना जारी भएको एक महिना पुगेको छ । तर नगरपालिकाले आफैले गरेको निर्णय कार्यान्वयन गर्न तदारुकता देखाएको छैन । जनप्रतिनिधिको कार्यकाल सकिने लागेको र कार्यकाल दोहोर्याउन चाहने जनप्रतिनिधिका कारण अतिक्रमित संरचना नहट्ने हो की भन्ने सर्वसाधारणको आशङ्का छ । “मेयर साबलाई फेरि मेयर हुने इच्छा छ, घरटहरा भत्काउँदा भोट काटिने डर होला उहॉलाई,” नाम नखुलाउने शर्तमा एक नगरवासीले भने, “त्यही कारण यो निर्णय कार्यान्वयन होला जस्तो लाग्दैन ।”

    नगरपालिकाले भने नगरसभाको तयारीका कारण ढिला भएको बताएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले शुक्रबार नगरसभा सकिएपछि अतिक्रमित संरचना हटाइने बताए । “निर्णय गरेपनि केही ढिलाई भएकै हो, अब सभा सकिएपछि अतिक्रमित संरचना हटाउँछौ,” उनले भने ।

    नगरपालिकाका अनुसार व्यास नगरपालिका– २ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका– १ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।

    नगरभित्र सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको छ । ४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले जनाएको छ ।