दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिर फागुन १ देखि खुल्ने भएको छ । कोरोना जोखिमका कारण जिल्ला प्रशासन कार्यालय तनहुँको आदेश बमोजिम माघ पहिलो सातादेखि बन्द भएको मन्दिर फागुन १ देखि खुल्न लागेको हो ।
लामो समयदेखि रोकिएको भाकल पूजा चल्ने गरी मन्दिर भक्तजनका लागि खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यसअघि भक्तजनका लागि मन्दिर बन्द भएपनि नित्यपूजा भने हुँदै आएको थियो । मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्
जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रुपमा लिईन्छ । ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।
हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् । ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । मन्दिरका पुजारी लम्सालका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिटमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।
उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरि लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।
मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको पाइएको छ । यसैको आधारमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रमाणित भएको बताइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महीनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजा अर्चनाका लागि दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । एकादशी, औँशी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइँदैन ।