दमाैली । जबरजस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आइतबार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए । १७ वर्षीया गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए ।
पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।
जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर अपराधमा कडा भन्दा कडा कारवाही गरी कानून बमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।