दमाैली । नेकपा एमाले तनहँका उपाध्यक्ष हरिराज कंडेलले प्रचण्डको चरम महत्वकांक्षाका कारण देश संकट तर्फ उन्मुख भएको बताएका छन् । प्रचण्डले जति नै राष्ट्रवादी कुरा गरेतापनि त्यो केवल देखाउने दाँत भएको उनको आरोप छ । एमसीसी प्रकरणमा आफू सत्ताबाट च्युत हुने देखेर माधव र प्रचण्ड मिलेर राष्ट्रघात गरेको कंडेलले बताए ।
नेकपा एमाले व्यास ५ को सोमबार आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कंडेलले उक्त कुरा बताएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत कम्युनिष्ट बनाउने उद्देश्यका साथ पार्टी एकीकरण गरेको भएतापनि प्रचण्ड पार्टीभित्रका चरम अवसरवादसँग साँठगाँठ गरेर कम्युनिष्टको सरकार ढालेको बताए ।
पुँजीवादीको हातमा सत्ता सुम्पेर चर्को परिवर्तनको नारा नओकल्न समेत उपाध्यक्ष कंडेलले चेतावनी दिए । स्थानीय तहको निर्वाचन नजिकिदै गरेको हुनाले एकतावद्ध भएर जनतामा जान उनले निर्देशन दिए ।
वडा कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठ विविको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपसचिव प्रदिपराज अधिकारीले माओवादीले सभामुखमाथि लाग्न सक्ने अभियोग र माधव कुमार नेपालको सासंद पद गुम्ने डरले एमसीसी पारित भएको बताए । समाजवादीको पार्टीको सासंद पद गुम्ने खतरा पैदा भएपछि रातारात प्रधानन्याधिशलाई महाअभियोग लगाएर हटाइएको उनले बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सदस्य प्रेम प्रसाद पौडेल, भीम वहादुर विक, जिल्ला सल्लाहकार रामजी लौडारी, नगर कमिटी अध्यक्ष विरेन्द्र अधिकारी, उपाध्यक्ष तुलसी पाण्डेले अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गरेका थिए ।