दमाैली । लामो समयदेखि घण्टौ लाग्ने खानेपानीका लागि समय व्यतित गर्नुपरेका भानु मैवलका स्थाीनय वासिन्दाहरु घर घरमा खानेपानीको धारा उपलव्ध भएपछि खुशी भएका छन् । मानव जातिको आधारभूत आवश्यकता खानेपानी लिन घण्टौ टाढा पुग्नुपर्ने अवस्थाबाट घरघरमा खानेपानी आएपछि यहाँका वासिन्दा खुशी भएका हुन् ।
गण्डकी प्रदेश सरकार अन्र्तगत आधारभुत खानेपानी योजना कार्यक्रमबाट एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ । पोखरीथोक–कोलग्रैही गोहीखोला खानेपानी २०७७ असारमा सुरु भएर सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारबाट एक करोड दुई लाख ४२ हजार ६ सयको लागतमा सम्पन्न योजनाबाट ७० घरका चार सय ९० जना लाभान्वित भएको अध्यक्ष चिजामाया विकले बताइन् । लिफ्टिङ प्रणालीबाट उपभोक्ताका घरघरमा खानेपानी सुविधा पुगेको छ ।
घरघरमा खानेपानीको धारा आएपछि दैनिकी नै परिवर्तन भएको स्थानीय अगुवा राजु श्रेष्ठले बताए । खानेपानी नहुँदा दैनिक जीवन नै पानीको जोहोका लागि व्यतित गर्नुपर्ने समस्यावाट मुक्त भएको उनले बताए ।