झोलुङ्गे पुलले छोट्यायो यात्रा अवधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    झोलुङ्गे पुलले छोट्यायो यात्रा अवधि

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७८, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ ।

    बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत सहभागितामा झोलुङ्गे पुल निर्माण भएपछि यस भेगका जनताको यात्रा अवधि छोटिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोपाल न्यौपानेले जानकारी दिए । यहाँ पुल नहुँदा स्थानीयवासी यसअघि चार किलोमिटर टाढा डुम्रेमा रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो । “झोलुङ्गे पुल बनेपछि चार किलोमिटर बाटो छोटो भयो, नत्रभने चार किलोमिटर टाढासम्म हिँडेर आवतजावत गर्नुपथ्र्यो,” न्यौपानेले भने ।

    विसं २०७८ वैशाख १३ गते पुल निर्माणका लागि सम्झौता भएकामा हालै मात्र पुल निर्माण सम्पन्न भएको छ । पुलको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

    ८५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि छ सय भन्दा बढी घरधुरीका तीन हजार छ सय भन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन् । झोलुङ्गे पुलले भानु नगरपालिकास्थित मैवल र नावरुङका सर्वसाधारणलाई पनि घुमाउरो बाटो नघुमी सिधै डुम्रे आउन सहज भएको स्थानीयवासी प्रदीप न्यौपानेले जानकारी दिए ।

    रु ३९ लाख ५१ हजार २४ को लागतमा पुल निर्माण भएको छ । गैर सरकारी संस्था समन्वय समिति तनहुँको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख १३ हजार छ सय ३३ सहयोग गरेको छ भने स्थानीयवासीले ७९ हजार २० जनश्रमदान गरेका छन् । दातृ संस्थाले रु ३३ लाख ५८ हजार तीन सय ६९ सहयोग गरेको छ ।