दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिएका हुन् ।
तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिँदै उनले भने, “तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।”
मन्त्री श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ मा धेरै विकासका कामहरु भइरहेको बताउँदै विकास निर्माणका सवालमा आफू सदैव प्रतिबद्ध रहेको बताए । “प्रतिनिधि सभामा निर्वाचित भएदेखि नै आफ्नो क्षेत्रको विकासमा लागिरहेको छु, विकासमा सबैसँग हातेमालो गरेर अगाडी बढ्छु,” श्रेष्ठले भने ।
श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडी बढेको छ । सडक डिभिजन र शहरी विकास विकास मन्त्रालयतर्फत् रु पाँच करोडको लगानीमा काम भइरहेको छ । त्यसका लागि सडक डिभिजनबाट रु दुई करोड र शहरी विकास मन्त्रालयमार्फत् रु तीन करोड बजेट विनियोजन भएको छ ।
यस मार्गमा पाँच सय मिटर सडक कालोपत्र हुनेछ । तीन हजार मिटर नाला र चार हजार मिटर सडक ग्राभेल गरिनेछ ।